धनगढी – झन्डै दुई सातादेखि सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसभित्र चर्किएको शक्ति संघर्ष अन्ततः मुख्यमन्त्री परिवर्तन नभई मन्त्रिमण्डल पुनर्गठनमा टुंगिएको छ । शनिबार साँझ भएको छलफलपछि दलभित्र शक्ति सन्तुलन मिलाउने सहमति जुटेसँगै मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउन सफल भएका छन्। सहमतिअनुसार असन्तुष्ट पक्षलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री तथा शाह पक्षलाई एक मन्त्री र एक राज्यमन्त्री दिने समझदारी बनेको स्रोतले जनाएको छ ।
यससँगै कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने कम्तीमा दुई मन्त्री र एक राज्यमन्त्री फेरिने निश्चितजस्तै भएको छ। केही प्रदेशसभा सदस्यहरूका अनुसार कांग्रेसका तीनै मन्त्री र दुवै राज्यमन्त्री परिवर्तन हुन सक्ने सम्भावना पनि छ । यद्यपि मुख्यमन्त्री शाह पक्षले आर्थिक मामिलामन्त्री बहादुर थापा लाई यथावत् राख्ने प्रयास गरिरहेको बताइएको छ । हाल कांग्रेसबाट सरकारमा आर्थिक मामिलामन्त्री थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम रहेका छन् । मुख्यमन्त्रीविरुद्धको अभियानले गत साता नाटकीय मोड लिएको थियो। १७ सदस्यीय कांग्रेस संसदीय दलमध्ये नौ सांसदले शाहलाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका थिए। तर प्रदेशसभा सदस्य डम्मरी महरा रक्षा ले अन्तिम समयमा हस्ताक्षर फिर्ता लिएपछि अभियान कमजोर बनेको थियो । विवाद थप चर्किन नदिन नेपाली कांग्रेस केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्दै सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसी लाई धनगढी पठाएको छ । उनीहरूको पहलपछि दलभित्र सहमति जुटेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्