Skip to content

एमालेले सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर गर्ने, चार नयाँ अनुहार आउने

धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेको छ। पार्टीले हाल सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेतृत्व पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने तयारी गरिएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको बताइएको छ । तयारीअनुसार सन्तोष शर्मा थापाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नेछन् ।

त्यसैगरी, चक्र मल्ललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। जानकी ऐर बम भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्ने बताइएको छ ।  मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम भोलि साँझसम्म हुन सक्ने सम्भावना रहेको छ । हाल एमालेबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा कार्यरत छन्। उनीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको छ  । यस्तै, निर्मला साउद पनि भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदबाट बाहिरिने तयारी रहेको स्रोतले जनाएको छ । एमालेले सरकारमा नयाँ अनुहार ल्याउने निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारमा फेरि एकपटक मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्