Skip to content

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्री बन्दै दार्चुलाका विक्रम धामी

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी लाई आर्थिक मामिला मन्त्री बनाउने तयारी लगभग टुंगिएको स्रोतले जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाह ले दार्चुलाबाट निर्वाचित धामीलाई प्रदेश सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। हाल उक्त मन्त्रालय बहादुरसिंह थापा ले सम्हाल्दै आएका छन् । अर्थ मन्त्रालयको जिम्मेवारीका लागि प्रदेशसभा सदस्य डम्मरी महरा को नाम पनि चर्चामा थियो। तर उनले सामाजिक सञ्जालमार्फत मन्त्री बन्ने दौडबाट आफू अलगिएको संकेत गरेपछि धामीको सम्भावना बलियो बनेको हो । सत्ता साझेदार नेकपा एमाले ले सरकारमा पठाउने चार जना सांसदको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको छ। त्यसैअनुसार सोमबार नै मन्त्री हेरफेरको प्रक्रिया टुंग्याउने तयारी भइरहेको बताइएको छ ।

यद्यपि, काँग्रेसभित्रको आन्तरिक समीकरण भने अझै पूर्ण रूपमा मिलिसकेको छैन। मुख्यमन्त्री शाहविरुद्ध उभिएको दिवानसिंह विष्ट समूहले सरकारमा पठाउने आफ्ना प्रतिनिधिको नाम तय गर्न नसक्दा अन्तिम निर्णयमा केही ढिलाइ हुन सक्ने अनुमान गरिएको छ । मन्त्री हेरफेरसँगै काँग्रेसभित्र पछिल्लो समय चर्किएको शक्ति संघर्षलाई समेत व्यवस्थापन गर्ने प्रयास भइरहेको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्