Skip to content

भारत भ्रमणबारे दलहरूसँग रवि लामिछानेको छलफल, सुझाव संकलन

काठमाडौं – १ फागुनमा सम्पन्न निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका प्रतिनिधिहरू सहभागी भएका थिए । छलफलपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ले रास्वपाको आग्रहमा बैठक बसेको जानकारी दिए। उनका अनुसार बैठकमा सभापति लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे दलहरूलाई जानकारी गराउनुका साथै सरकारको कामकारबाहीबारे सुझाव र टिप्पणी मागेका थिए ।

लिङदेनले विभिन्न दलका प्रतिनिधिहरूले राजनीतिक संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखेको बताए। साथै भारत भ्रमणअघि नै यस्तो सर्वदलीय छलफल आयोजना गरिएको भए अझ प्रभावकारी हुने सुझाव पनि बैठकमा दिइएको उनको भनाइ छ । दलका प्रतिनिधिहरूले महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमण वा राष्ट्रिय सरोकारका विषयमा अग्रिम रूपमा राजनीतिक दलहरूसँग परामर्श गर्दा साझा धारणा बनाउन सहज हुने उल्लेख गरेका थिए । निर्वाचनपछि पहिलोपटक सत्तारुढ पक्षका शीर्ष नेताको आह्वानमा सर्वदलीय बैठक बसेको बताइएको छ। बैठकमा सहभागी दलहरूले सरकारका कामकारबाही, राजनीतिक सहकार्य र समसामयिक विषयमा समेत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्