काठमाडौँ – भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ । आइतबारसम्म यो संख्या ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ । सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन् । उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन् । यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ ।
तर उद्धार तथा राहतमा सरकारको तयारी र सक्रियता कमजोर रहेको आरोप लगाउँदै स्थानीयवासीहरू आक्रोशित बनेका छन् । सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार पर्याप्त रूपमा परिचालित हुन नसकेको भन्दै प्रभावितहरूले सरकारको आलोचना गरेका छन् । भूकम्पपछि पहिलो ४८ देखि ७२ घण्टालाई जीवित उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यद्यपि खाना र पानीको पहुँच भए त्यो अवधि केही लम्बिन सक्ने मानवीय सहायता निकायहरूको भनाइ छ ।
भेनेजुएलाका अधिकारीहरूका अनुसार शनिबारसम्म १७ वटा अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार ६०० भन्दा बढी उद्धारकर्मी देश पुगेका छन् । भूकम्प गएको ७२ घण्टा बितिसक्दा पनि भग्नावशेषभित्र जीवित मानिसहरू रहेको विश्वास गरिएका स्थानमा पर्याप्त उद्धार नभएको भन्दै स्थानीयहरू निराश बनेका छन् । ‘त्यहाँ हिजो रातिदेखिका शवहरू थुप्रिएका छन्, नवजात शिशुसमेत छन्। हिजो बेलुका ८ बजेसम्म तल मानिसहरू जीवित थिए, तर उनीहरूलाई उद्धार गर्न कसैले चासो दिएन । हामीले धेरै शव फेला पारेका छौं, ती निकाल्न पनि कसैले सहयोग गरेको छैन। आखिर उनीहरू के कुराको प्रतीक्षा गरिरहेका छन्?,’ समुद्री तटीय सहर काराबालेदाकी स्थानीयवासी माइलेइडी रोमेरोले एपीसँग भनेकी छन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत १४ हजारभन्दा बढी सैनिक र प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको दाबी गरेकी छन् । उनका अनुसार अहिले प्रभावित क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति आवश्यक पर्ने व्यवस्था गरिएको छ। तर स्थानीय बासिन्दाहरूले भने सरकारी उपस्थिति निकै न्यून रहेको बताएका छन् । धुलोले ढाकिएका बस्तीहरूमा मानिसहरू भत्किएका भवनमाथि चढेर आफ्ना आफन्तको नाम पुकारिरहेका छन् । अत्यधिक गर्मी र शव गन्हाउन थालेपछि धेरैले मास्क लगाएर उद्धारमा जुटेका छन्।
केही स्थानमा अस्थायी अस्पतालको पार्किङबाट शवहरू ट्रकमा राखेर पहिचानका लागि लगिएको दृश्य देखिएको छ । उद्धारकर्मी र स्थानीयसँग सुरक्षाका आवश्यक सामग्रीसमेत पर्याप्त नभएकाले धेरैले मोटरसाइकलको हेल्मेट लगाएर भग्नावशेष पन्छाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्