काठमाडौँ – काठमाडौँ महानगर कप वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता २०८३ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ । महानगरपालिकाले नेपाल व्याडमिन्टन संघ काठमाडौँसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिएको हो । महिलातर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का अजरेन्का शेरचन र पुरुषतर्फ वडा नं. १० का बबिस थापा बिजयी हुनुभयो । प्रतियोगिता समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले विजेताहरुलाई जनही ३२ हजार रुपियाँसहित पुरस्कृत गर्नुभयो ।
पुरुषतर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का सोयम मानन्धर उपविजेता र महिलातर्फ वडा नं. ६ की शिष्टता कुइँकेल उपविजेता हुनुभयो । उहाँहरुलाई जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो । वडा नं. २८ का गौरव तण्डुकार र वडा नं. ४ का सुशान्त प्रजापतीले पुरुषतर्फ र वडा नं. २३ की सम्रिना श्रेष्ठ र वडा नं. १५ का श्रीया महर्जनले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरुलाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरियो । पाँचौँदेखि आठौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रति खेलाडी २ हजार ५ सय नगदसहित पुरस्कृत गरिनेछ ।
मिक्स डवलतर्फ वडा नं. १५ का अनिशराज तुलाधर र विद्या श्रेष्ठ विजेता बन्नुभयो । उहाँहरुको टोलीलाई ४० हजार रुपियाँसहित पुरस्कृत गरियो । वडा नं. १० का सक्षम ढकाल र विभा थापाको टोलीले उपविजता बन्यो । यस्तै वडा नं. २९ का नरेश श्रेष्ठ र पुनशोभा महर्जन तथा वडा नं. ३२ का राजु देउजा र अम्बिका पण्डित क्षेत्रीको टोलीले तेस्रो स्थान हासिल ग¥यो । उपविजेता टोलीलार्य ३० हजार रुपियाँ र तेस्रो हुने टोलीलाई १६ हजार रुपियाँ सहित पुरस्कृत गरियो । समापन समारोहमा कार्यवाहक प्रमुख डंगोलले, मोहनबहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गर्नुभयो । व्याडमिन्टन खेलको विकास, विस्तार र प्रवर्धनमा जीवनभर काम गर्नुभएका शाहीलाई सम्मान प्रदान गरिएको हो । त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खेलमार्फत स्वस्थ्य महानगर निर्माणको कल्पना गरेको बताउनुभयो । ‘खेल प्रतियोगिता मात्र होइन । व्यक्ति व्यक्तिलाई अनुशासनयुक्त सम्बन्धमा राख्ने माध्यम पनि हो । यो माध्यम भनेको स्वस्थ्य नागरिक र स्वच्छ समाज निर्माणको सुत्र पनि हो । यसकारण हामीले खेलको विकासलाई महत्वका साथ अगाडि बढाएका छौँ ।’ डंगोलले महानगरपालिकाको दृष्टिकोण राख्दै भन्नुभयो, ‘प्रतिस्पर्धाका खेलसँगै सांस्कृतिक खेलको विकास र खेल मार्फत आर्थिक कारोबारको वृद्धिलाई हामीले अपेक्षित नतिजाका रुपमा लिएका छौँ ।’
‘महानगरपालिकाले यस वर्ष थालिएका खेलहरुलाई निरन्तरताको सुनिश्चित गर्नेछ ।’ कार्यक्रममा सामाजिक विकास समितिका संयोजक के. सी. ले भन्नुभयो, ‘अघिल्ला वर्षहरुमा पनि खेल प्रतियोगिता हुन्थे । तर, ती खेल वन टाइम इभेन्टका रुपमा थिए । यस वर्ष थालिएका खेलहरुलाई आगामी वर्षहरुमा संस्करण थप गर्दै लैजानेछौँ ।’ प्रतियोगिताका विषयमा धारणा राख्दै नेपाल ओलम्पिक कमिटीका सदस्य राजीव श्रेष्ठले भन्नुभयो, ‘प्रतियोगितामा पुगेको खेलाडीले कि जित्छ । कि सिक्छ । हार कसैको पनि हुँदैन । यस्तो सद्भावयुक्त खेल सञ्चालनमा महानगरपालिकाले लगानी गरेपछि हामी पनि उत्साहित छौँ ।’
काठमाडौँ महानगरपालिकाले स्थान उपलब्ध गराउने हो भने हामी अन्तर्राष्ट्रिय स्तरको व्याडमिन्टन कभर्डहल बनाउँछौँ । कार्यक्रममा व्याटमिन्टन संघ काठमाडौँका अध्यक्ष दिपक थापाले उत्साहित माग राख्नुभयो । असार १२ गतेदेखि डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । लैङ्गिक समानता तथा सन्तुलित सहभागिता प्रवर्धन गर्न वडाहरुबाट २ जना पुरुष र २ जना महिला खेलाडीलाई सहभागी गराइएको थियो । यसमध्ये १ जनालाई पुरुष एकल विधामा १ जना महिलालाई महिला एकल विधामा, १ जना पुरुष र १ जना महिलालाई मिश्रित युगल समूहमा प्रतिस्पर्धा गराइएको थियो । खेल लिग नकआउन प्रणाली अनुसार खेलाइएको थियो । ३ खेलमा उत्कृष्ट (वेस्ट अफ थ्री)मा खेलाइएको खेलमा प्रत्येक खेललाई १५ अंक प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्