काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतरपक्षले काठमाडौंमा आफ्नै सम्पर्क कार्यालय स्थापना गरेको छ । इतरपक्षले काठमाडौंको चुनदेवीस्थित एक घर भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालनको तयारी गरेको हो । हाल कार्यालय सञ्चालनका लागि सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको जनाइएको छ । इतरपक्षका नेता प्रकाशशरण महतका अनुसार कार्यालय स्थापना गर्नुको मुख्य उद्देश्य नेताहरूबीच नियमित भेटघाट, छलफल र समन्वयलाई व्यवस्थित बनाउनु हो। यसअघि सम्पर्क र छलफलका लागि स्थायी स्थान नभएकाले अब सोही कार्यालयबाट गतिविधि सञ्चालन गरिने उनले बताए ।
कार्यालय सञ्चालनका लागि आवश्यक आर्थिक व्ययभार हाललाई इतरपक्षका नेताहरूले संयुक्त रूपमा व्यहोर्ने सहमति भएको पनि महतले जानकारी दिए । यसैबीच, पार्टीभित्र आफूहरूले उठाएका मागका विषयमा सभापति तथा उपसभापतिबाट हालसम्म कुनै ठोस प्रतिक्रिया नआएको इतरपक्षको भनाइ छ। त्यसैले केही समय परिस्थिति हेरेर आवश्यक निर्णयसहित अघि बढ्ने रणनीतिमा इतरपक्ष रहेको बताइएको छ । इतरपक्षले सातै प्रदेशमा आयोजना गरिएका भेलाहरू सम्पन्न गरिसकेको छ । अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको भए पनि तत्कालका लागि ‘पर्ख र हेर’को रणनीति अपनाइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्