काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग्दै प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको पुरानो फेसबुक स्टाटस उद्धृत गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले २०७९ माघ १० गते इलामका युवा कृषक प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गरेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा लेखेको स्टाटस पढेर सुनाएका हुन् ।
पुनले उक्त स्टाटसमा आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य र त्यसको संकेत राज्यको चरम असफलता भएको उल्लेख गरिएको स्मरण गराउँदै अहिले गणेश नेपालीको आत्मदाह प्रकरणमा पनि प्रधानमन्त्रीको धारणा उही रहेको वा परिवर्तन भएको भन्ने प्रश्न उठाए ।उनले गणेश नेपालीको आत्मदाह राज्यको असफलताको परिणाम हो कि होइन भन्दै सरकारसँग स्पष्ट जवाफ मागे। साथै गरिब, दुःखी र सुकुम्बासी नागरिकले देशमै सम्मानपूर्वक बाँच्न र रोजगारी गर्न नपाउने अवस्था सिर्जना भएको संकेत हो कि होइन भन्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद पुनले सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण परिवर्तन भएको हो वा आत्मदाहजस्ता घटनालाई अझै पनि राज्यको चरम असफलताका रूपमा लिनुहुन्छ भन्ने विषयमा संसदमार्फत स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्