काठमाडौं – नेपाली कांग्रेसकी सांसद गीता गुरुङले वर्तमान सरकार गम्भीर विषयबाट जनताको ध्यान मोड्न ‘स्टन्ट’ गर्ने शैलीमा अघि बढिरहेको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारमाथि प्रश्न उठ्नेबित्तिकै अर्को विषय अघि सारेर बहसलाई विषयान्तर गर्ने प्रयास भइरहेको बताइन्। यस्तो प्रवृत्तिले जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो । ‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ पर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। कीर्तिपुरस्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मच्चियो,’ उनले भनिन्।
उनले पछिल्ला आत्मदाहका घटनापछि पनि सरकार गम्भीर बहसभन्दा विषयान्तरतर्फ केन्द्रित भएको आरोप लगाइन् । ‘यता त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा आत्मदाहका तीन घटना भए। तर अहिले मिडियाका गेट र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निवासअगाडि गाडी राख्ने फन्डा ल्याइएको छ,’ गुरुङले भनिन्। सांसद गुरुङले सरकारलाई गम्भीर राष्ट्रिय मुद्दा छायाँमा पार्ने प्रयास नगर्न आग्रह गर्दै भनिन्, ‘गम्भीर विषय उठ्दा विषयान्तर गर्न आउने यस्ता सस्ता सरकारी फन्डाहरू अब नयाँ रहेनन् । यस्तो सस्तो स्टन्टको पछि नकुद्नुहोला।’



प्रतिक्रिया दिनुहोस्