काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच मुलुकको आर्थिक अवस्था, आगामी मौद्रिक नीति, सेयर बजार तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा भएको भेटमा प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सहजीकरण तथा आवश्यक लचकता अपनाउन सुझाव दिएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका क्रममा शाहले सरकार र नेपाल राष्ट्र बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्रै लगानीकर्ताको आत्मविश्वास बढाउन सकिने उल्लेख गर्दै पूँजी बजारमा आबद्ध सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
उनले मौद्रिक नीतिमा रहेका केही सीमित तथा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो बनाउँदै सेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउनुपर्ने सुझाव दिएका छन्। साथै उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका लागि साना तथा ठूला उद्यमीले बिना त्रास लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न तथा बैंकहरूको ब्याजदर र कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
भेटका क्रममा गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीतिलाई व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकार र राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको उल्लेख गर्दै कसैलाई अप्ठ्यारो पर्ने वा त्रसित बनाउने नीति नअपनाइने स्पष्ट पारे। गभर्नर पौडेलले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा आवश्यक सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्