Skip to content

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं – देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षासँगै हिमपातसमेत हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर साधारणतया बदली रहनेछ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र कोशी तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा र अन्य गतिविधिमा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्