Skip to content

एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रिहा भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले न्यायलयमाथि प्रश्न उठाएका छन् । पौडेलको रिहाइप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद यज्ञमणि न्यौपाने र टीका संग्रौलाले न्यायलयमाथि प्रश्न उठाएका हुन् । सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पौडेललाई विशेष अदालतले शुक्रबार रिहा गरेको थियो । अदालतले उनीमाथि लागेका आरोप पुष्टि हुन नसकेको भन्दै पौडेललाई रिहा गरेको थियो । उनको रिहापछि रास्वपा सांसद न्यौपानेले न्यायलयको पुनर्संरचनाको प्रश्न उठाएका छन् ।

‘विगतका केही शृंखलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ । न्यायालय पुनर्संरचनाबिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आमसर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन । न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ’, न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् । यस कर्मलाई जति ढिला गर्‍यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्ने उनले दाबी गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ, र मात्रै देश परिवर्तन गर्न सम्भव छ । यो मेरो आवेगमा आएर बुझेको बुझाइ नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो ।’

संग्रौलाले सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रवि लामिछानेको विषयलाई झिकेर न्यायलयमाथि प्रश्न गरेकी छन् ।

उनले लेखेकी छन्, ‘४ करोड बिगो मागदाबी गरिएका रवि लामिछानेले बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने, अनि २० करोड ७७ लाख बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका विष्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने ? अदालतले कसैलाई बिगो बराबर धरौटी माग्छ अनि कसैलाई साधारण तारिखमा छोड्छ । कानुन सबैलाई एउटै हुनुपर्दैन ?’

प्रतिक्रिया दिनुहोस्