Skip to content

सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा.परियार

काठमाडौँ – निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को कार्यकारी निर्देशक पदमा प्रा.डा जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार क्यान्सर रोग विशेषज्ञ परियारलाई नियुक्त गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख छ।

डा.परियार १३ वर्षदेखि सिभिल अस्पतालमा कार्यरत छन् । २६ वर्ष अघि मेडिकल अफिसर बनेका चितवनका परियारले भरतपुर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत काम गरेका छन्।

अस्पताललाई शिक्षण संस्थाको रूपमा विकास गर्ने सहितका एजेन्डा आफूले अघि सारेको उनले बताए । ‘सिभिल अस्पताललाई एकेडेमीको रूपमा अघि सार्ने म्यान्डेट मलाई छ। निजामती कर्मचारका लागि अझै उत्कृष्ट सेवा दिने बनाउनुछ। काठमाडौंको केन्द्रमा रहेकाले सर्वसाधरणका लागि पनि अझै भरोसायोग्य बनाउनुछ,’ उनले भने, ‘क्यान्सर उपचारको लागि अलग्गै केन्द्र बनाउने योजना पुरा गर्ने र यसलाई अनुसन्धानको पनि केन्द्र बनाउने मेरो लक्ष्य छ।’ अस्पताललाई सफल र सबल बनाउन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सहितको साथ र सहयोग चाहिने भन्दै उनले उनीहरूको हक हितमा काम गर्नु पनि आफ्नो महत्वपुर्ण एजेन्डा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्