Skip to content

आत्महत्या र आत्मदाहका घटना बढ्नु चिन्ताजनक, कारण पहिचान गरी प्रभावकारी पहल गर्न शान्ता चौधरीको आग्रह

काठमाडौं – नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पछिल्लो समय देशमा आत्महत्या र आत्मदाहका घटनाहरू बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आज मात्रै एक जना व्यवसायीले आफ्नै घरबाट हाम फालेर ज्यान गुमाएको खबर आएको उल्लेख गर्दै पछिल्ला केही दिनयता आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाउने घटनाहरू पनि लगातार सार्वजनिक भइरहेका बताएकी छन् । यस्ता दुःखद घटनाहरूले समाजलाई गम्भीर प्रश्नको सामना गराइरहेको उल्लेख गर्दै चौधरीले यसको वास्तविक कारण पहिचान गर्न आवश्यक रहेको बताएकी छन्।

उनले मानसिक स्वास्थ्य, आर्थिक अवस्था तथा सामाजिक समस्यालाई समयमै सम्बोधन गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएकी छन् । “एउटा जीवन गुम्नु भनेको एउटा परिवारको संसार उजाडिनु हो,” भन्दै उनले यस्ता घटनाको रोकथामका लागि राज्य, समुदाय र सरोकारवाला सबै पक्षले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्