काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै राजनीतिक नेतृत्वमा संयम, जिम्मेवारी र दूरदृष्टिको आवश्यकता औंल्याएका छन्। ४४औँ बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा बोल्दै थापाले, “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने” भन्दै सरकार र प्रतिपक्ष दुवैको भूमिकामाथि कटाक्ष गरे।
उनले नेपाली कांग्रेसका संस्थापक नेता एवं जननायक बीपी कोइरालाले देखाएको लोकतान्त्रिक मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी बीपीका विचारलाई वर्तमान पुस्तासँग जोड्ने अभियान अघि बढाइने बताए। थापाका अनुसार जलवायु परिवर्तनलाई नेपालको विकासको मुख्य एजेन्डा बनाउने उद्देश्यले कांग्रेसले विज्ञहरूसँग छलफल सुरु गरिसकेको छ। ती छलफलबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माण प्रक्रियामा समेटिने उनले बताए।
यसै अवसरमा उनले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको जानकारी दिँदै सुरुआती चरणमै उक्त कोषमा १० लाख रुपैयाँ जम्मा भएको बताए। उनका अनुसार कोषको रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला तथा शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिनेछ। थापाले ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम मात्र नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै नेपाली कांग्रेसले बिहीबार देशव्यापी नयाँ अभियान सार्वजनिक गर्ने जानकारीसमेत दिए।



प्रतिक्रिया दिनुहोस्