काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययन र सूचना ग्रहण गर्ने शैली परिवर्तन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले प्रविधिमैत्री, छिटो र प्रभावकारी सूचना प्रवाहमा जोड दिँदै नेपाल प्रहरीले पनि बदलिँदो प्रवृत्तिअनुसार आफूलाई परिमार्जन गरिरहेको बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सामाजिक सञ्जाल र टिकटकजस्ता डिजिटल प्लेटफर्मका कारण मानिसहरू लामो लेख वा समाचारभन्दा छोटो सामग्री हेर्न र पढ्न बढी आकर्षित भएको बताए । उनले यस्तो प्रवृत्तिले पढ्ने संस्कृतिमै असर पुग्न सक्ने चिन्ता व्यक्त गर्दै नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा तथा प्रभावकारी भिडियो र सन्देश सार्वजनिक गरेर नागरिकलाई छिटो, सरल र सहज रूपमा सूचना उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए । “आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन्। टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ। यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ,” आईजीपी कार्कीले भने।
कार्यक्रममा उनले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राजनीति, कूटनीति वा द्वन्द्वका समाचारमा मात्र सीमित नहुन आग्रह गरे। समाजका सिर्जनशील, प्रेरणादायी र सकारात्मक पक्षलाई पनि प्राथमिकताका साथ उजागर गर्नुपर्ने उनको भनाइ थियो। उनले कृषि, पर्यटन, उत्पादन, नवप्रवर्तन, सुरक्षा तथा समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिका प्रेरणादायी कथा र सफलताका समाचारले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। आईजीपी कार्कीले यस्ता समाचारको प्रवर्द्धनले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन सहयोग पुग्ने तथा समग्र समाजलाई रचनात्मकतातर्फ उन्मुख गराउने धारणा व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्