Skip to content

एकै दिनमा सत्ता उल्ट्याउन वामपन्थीलाई प्रचण्डको आह्वान, ‘अब एक्सनमा जाऔं’

काठमाडौं -नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर आवश्यक परे एकै दिनमा सत्ता परिवर्तन गर्न सकिने भन्दै त्यसका लागि तयारी गर्न आह्वान गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रतिक्रान्तिको प्रक्रिया अझै पूरा नभएकाले त्यसलाई परास्त गर्न सबै वामपन्थी दलबीच कार्यगत एकता आवश्यक रहेको बताए। प्रचण्डले अहिले सत्तामा रहेका दलहरूले नै एकै दिनमा सत्ता उल्ट्याउन सकिने उदाहरण देखाइसकेको दाबी गर्दै संसद्, निर्वाचन र जनआन्दोलनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राखे।“सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी हाम्रै तरिकाले लड्ने हो। तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्,” उनले भने।

उनले सबै वामपन्थी दलहरूले साझा न्यूनतम कार्यक्रम बनाएर आफ्नो क्षमताअनुसार काठमाडौं र जिल्ला सदरमुकामहरूमा कार्यकर्ता परिचालन गर्नुपर्ने बताए।“हरेक पार्टीले आफ्नो क्षमताअनुसार ५/७ लाख मान्छे काठमाडौंमा र हरेक सदरमुकाममा एक/डेढ लाख उतारेर गर्‍यौं भने एकै दिनमा उल्ट्याउन सकिँदैन त?” उनले प्रश्न गरे।प्रचण्डले सरकार बनाउने र गिराउने खेलमै फेरि अल्झिए अर्को प्रतिक्रान्तिले वामपन्थी आन्दोलन उठ्न नसक्ने गरी कमजोर पार्न सक्ने चेतावनी पनि दिए।  “समय यही हो। हामीले राम्रोसँग एकताबद्ध हुने, ठूला–ठूला गफ छाड्ने र अब एक्सनमा जाने बेला आएको छ,” उनले भने।यद्यपि उनले तत्काल सबै वामपन्थी दल एउटै पार्टीमा विलय हुने सम्भावना नरहेको स्पष्ट पारे। उनका अनुसार अहिलेको आवश्यकता पार्टी एकीकरणभन्दा पनि इमानदार सहकार्य र कार्यगत एकता हो। “पार्टी एक बनाउँछौं भन्यो फेरि झगडा सुरु हुन्छ। तर सहकार्य र कार्यगत एकता तत्काल आवश्यक छ। इमानदार सहकार्य भयो भने पार्टी एउटै पनि त्यहीँबाट बन्छ,” उनले बताए।

प्रतिक्रिया दिनुहोस्