दार्चुला – नेकपा (एमाले) दार्चुलाका पूर्व जिल्ला अध्यक्ष तथा नौगाड गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमसिंह धामीले आजदेखि आफू कम्युनिस्ट पार्टीको सदस्य नरहने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै धामीले पार्टीसँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य भएको जनाएका हुन् । धामीको यो निर्णय यस्तो बेला सार्वजनिक भएको छ, जतिबेला प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले) र नेकपाबीच सहकार्यको सहमति भएको छ ।
प्रदेशस्तरमा वाम सहकार्यको सन्देश गइरहेका बेला दार्चुलामा भने एमालेले अनुभवी र प्रभावशाली नेता गुमाएको छ । सहपाटीसँगको छोटो प्रतिक्रियामा धामीले भने, “आजदेखि म कम्युनिस्ट पार्टीको सदस्य नरहने निर्णयमा पुगेको छु ।’ उनको बहिर्गमनलाई कतिपयले दार्चुला एमालेभित्र पुस्तान्तरणको बहस र नेतृत्व व्यवस्थापनमा देखिएको असन्तुष्टिको संकेतका रूपमा समेत हेर्न थालेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित धामी त्यसपछि पार्टीको जिल्ला अध्यक्षसमेत बनेका थिए । लामो समय संगठन निर्माणमा सक्रिय भूमिका खेलेका उनी जिल्लामा कुशल संगठक र प्रभावशाली नेताका रूपमा परिचित छन् । पछिल्लो समय पार्टीभित्र देखिएको पुस्तान्तरणको बहसमा धामी खुलेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिएका थिए। विशेषगरी ‘जेनजी’ आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तन र संगठनको पुनर्संरचनाको आवश्यकता रहेको उनको धारणा रहँदै आएको बताइन्छ ।
धामीको बहिर्गमनले एमाले दार्चुलाको संगठनात्मक संरचना र आगामी राजनीतिक समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने धामी निकट स्रोत बताउँछ । विशेषगरी उनले निर्माण गरेको संगठनात्मक आधार र कार्यकर्तामाझ रहेको प्रभावका कारण उनको निर्णयलाई सामान्य घटनाका रूपमा नहेरिएको विश्लेषण भइरहेको छ । यद्यपि धामीले पार्टी छाड्नुको विस्तृत कारण भने सार्वजनिक गरेका छैनन् । उनले अब कुन राजनीतिक बाटो रोज्ने वा स्वतन्त्र रूपमा रहने भन्ने विषयमा पनि कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । धामीजस्ता प्रभावशाली जिल्ला नेताको बहिर्गमनले दार्चुलामा एमालेको संगठन र आगामी निर्वाचनको तयारीमा समेत असर पार्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्