Skip to content

विराटनगरका पसल र विद्यालय बन्द, राजमार्ग अवरूद्ध

काठमाडौ – सुनसरी देवानगन्जको कप्तानगन्जमा उत्पन्न तनावका कारण कोशी प्रदेश राजधानी विराटनगरसमेत प्रभावित बनेको छ । त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरको मुख्य बजार क्षेत्र र विद्यालयहरू बन्द छन् । निजी विद्यालय सञ्चालकहरूले भने मंगलबार बिदा दिने भनेर सोमबार नै निर्णय लिएको बताएका छन् । कप्तानगन्ज क्षेत्रको अवस्था बिस्तारै शान्त बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा भने प्रदर्शन चर्किएको छ ।

सडकमा विभिन्न स्थानमा टायर बालेर यातायात पूर्ण रूपमा रोकिएको छ । ​ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज क्षेत्र साम्य हुने क्रममा रहे पनि राजमार्गमा प्रदर्शन जारी छ । ​ अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि, लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन् । प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ । ​ आइतबार राति र सोमबार दिउँसो भएका घटनाप्रति दुःख व्यक्त गर्दै सुनसरीका तीन स्थानीय तहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले घटनाको शोकमा मंगलबार स्थानीय बिदा दिएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विज्ञप्ति जारी गरेर अनुसार गाउँ कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । देवानगन्ज घटनामा एक जनाको ज्यान गएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्