Skip to content

सामाजिक सद्‌भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन कांग्रेसको आग्रह, घटनाको निष्पक्ष छानबिनको माग

काठमाडौँ – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेको छ । साथै, सामाजिक सद्‌भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा बुधबार जारी विज्ञप्तिमा सामान्य विवादका क्रममा नागरिकको ज्यान जाने गरी गोली चल्न पुगेको अवस्थाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उल्लेख गरिएको छ । कांग्रेसले संवेदनशील परिस्थितिमा राज्य संयमित हुन नसकेको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेको छ । विज्ञप्तिमा पछिल्लो समय देखिएका विभिन्न सुरक्षा घटनाले सरकार देश र नागरिकको सुरक्षाप्रति आवश्यक संवेदनशीलता र तयारीमा कमजोर देखिएको टिप्पणी गरिएको छ। घटनाको सत्य–तथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न कांग्रेसले पुनः माग गरेको छ । कांग्रेसले अहिलेको अवस्थामा थप हिंसा र क्षति हुन नदिन सबै पक्षलाई धैर्य, संयम र संवादको बाटो अपनाउन अपिल गरेको छ। अफवाह फैलाएर सामाजिक सद्‌भाव बिगार्ने तथा साम्प्रदायिक हिंसा भड्काउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ ।

त्यसैगरी, पार्टीले आफ्ना सबै समिति, नेता तथा सदस्यहरूलाई पीडित परिवारलाई सहयोग गर्न, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्‌भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ । साथै, सामाजिक सद्‌भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न भए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्