Skip to content

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताएका छन् । आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कार्य कसैको पनि हितमा नहुने बताएका छन् ।

यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको भनाइ छ । संवेदनशील अवस्थामा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबैको साझा दायित्व भएको उनले उल्लेख गरेका छन् । ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्। मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले भनेका छन् । उनले यस संवेदनशील घडीमा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्