Skip to content

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का घाइते रवीन्द्र मेहताको पनि मृत्यु, मृतक संख्या तीन पुग्यो

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरेका छन् । रवीन्द्र १० साउनमा भएको झडपका क्रममा बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनलाई विराट नर्सिङ होमबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काट्नुपरेको थियो।  यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। सरकारसँग भएको सातबुँदे सहमतिपछि दुवैको शव घटनास्थलमै अन्त्येष्टि गरिएको थियो।

देवानगञ्ज घटनामा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई हात र कोखमा गोली लागेको थियो। यस्तै, न्युरो अस्पताल विराटनगरमा उपचाररत मिथिलेश मेहता, हरेराम यादव र अमलेश मेहताको अवस्था चिकित्सकको निगरानीमा रहेको छ। मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो र शल्यक्रिया गरेर गोली निकालिएको अस्पतालले जनाएको छ। विराट नर्सिङ होममा उपचाररत अन्य घाइतेमा सुनील मेहता, अमितकुमार यादव र सुनील मेहता रहेका छन्। उनीहरू क्रमशः खुट्टा, कम्मर र बायाँ हातको कुहिनामा गोली लागेर घाइते भएका हुन्।

देवानगञ्ज घटनापछि भएको विरोध प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्