काठमाडौं – शिक्षाक्षेत्रमा सक्रिय व्यक्तित्वहरू गीत–संगीत तथा कला क्षेत्रमा पनि जोडिन थालेका छन् । यही क्रममा शिक्षा क्षेत्रका अगुवाहरूको संयुक्त सहभागितामा ‘तीज हंगामा’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हिमालय कलेज, कोटेश्वरको प्राङ्गणमा आयोजित विशेष समारोहबीच म्युजिक भिडियोको प्रिमियर गरिएको हो । कार्यक्रममा एन–प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यता तथा हिसानका महासचिव रामहरि सिलवाल र प्याब्सन केन्द्रीय उपाध्यक्ष संगीता सिलवालको विशेष उपस्थितिमा सयौँ विद्यार्थी, शिक्षक, शिक्षिका तथा कलाकारहरूको सहभागिता रहेको थियो ।
निर्माता तथा रचनाकार भीम मैनालीको प्रस्तुति रहेको ‘तीज हंगामा’को सह–निर्मातामा संगीता सिलवाल रहेकी छन् । संयुक्त स्थापितले निर्देशन गरेको भिडियोमा गायिका प्रिती आलेको स्वर रहेको छ । मुख्य नृत्य निर्देशक तथा कलाकार अस्मिता थापा, दीपा क्षेत्री, संगीता सिलवाल र संगीता शर्मालगायतले अभिनय तथा नृत्य प्रस्तुत गरेका छन् ।
भिडियोमा अतिथि कलाकारका रूपमा पाण्डव हमाल ठकुरी, महेश सापकोटा तथा निर्माता भीम मैनाली स्वयंले समेत अभिनय गरेका छन् । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वहरू कला र मनोरञ्जनको क्षेत्रमा समेत प्रस्तुत भएपछि गीत थप आकर्षक बनेको निर्माताको भनाइ छ ।
करिब सात लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको ‘तीज हंगामा’ नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यालाई लक्षित गरी सार्वजनिक गरिएको हो । नेपाली महिलाहरू, दिदीबहिनी तथा चेलीबेटीहरूको जीवनशैली, भावना र यथार्थतासँग मेल खाने विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
तीजको सांस्कृतिक पक्षसँगै महिला जीवनका विविध पक्षलाई मनोरञ्जनात्मक रूपमा समेटिएको भिडियो दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त रहेको छ । शिक्षाक्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तिहरूको गीत–संगीत र अभिनयतर्फको सहभागिताले पनि ‘तीज हंगामा’लाई थप चर्चामा ल्याएको छ ।




प्रतिक्रिया दिनुहोस्