Skip to content

कांग्रेसको १५औँ महाधिवेशन नसर्ने गगन थापाको दाबी, यस्ता छन् नसर्ने कारण !

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका कारण कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने दाबी गरेका हुन् । महाधिवेशनको प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै थापाले सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आह्वान गरे । उनले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको स्पष्ट पार्दै पार्टीका सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे । महाधिवेशनलाई लिएर अलमलमा रहेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने प्रतिबद्धता पनि थापाले जनाए । पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध निर्मम बन्ने तर आन्तरिक एकताका लागि भने नरम र लचिलो हुने संस्कार आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट सिकेको उनले स्मरण गरे ।

पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै पनि सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै थापाले कांग्रेसलाई थप व्यवस्थित र एकताबद्ध बनाएर अघि बढाउने बताए । उनले आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्