धनगढी – लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने विषयमा सर्वदलीय सहमति जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रदेशमा लामो समयदेखि बजेट शून्यताको अवस्था कायम रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा असर पर्नसक्ने भन्दै बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा दलहरूबीच सहमति भएको हो । बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी बजेट निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ ।
सर्वदलीय सहमतिपछि प्रदेश सरकारलाई बजेट निर्माणका साथै त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । अब बजेट निर्माणपछि प्रदेश सरकारका नियमित कार्यक्रम, सेवा प्रवाह तथा विकास निर्माणका कामले समेत गति लिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्