काठमाडौँ – एसिया कप क्रिकेटमा नेपालको छनोट भएको छ । एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधि जितेपछि अर्को वर्ष हुने एसिया कपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको हो । शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनल खेलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको छ । नेपालले दिएको ३१४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा युएई ४९.१ ओभरमा अल आउट हुँदा २६९ रनमात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले ३ विकेट लिँदा ललित राजवंशी, दिपेन्द्रसिंह ऐरीले २/२ तथा सन्दीप लामिछाने, रोहित पौडैल र गुल्सन झाले एक/एक विकेट लिए । युएईका ललित चोपराले शतक पूरा गरे पनि जितका लागि पर्याप्त भएन । उनले १०५ बल खेलेर ३ चौका र ४ छक्का प्रहार गरी १०० रन बनाएका थिए। शोहेब खानले ५७ बलमा ५२ रन, तानिश सुरीले २८ बलमा ४२ रन र कप्तान हरप्रित सिंहले ४१ बलमा ३३ रन बनाए ।
पहिले ब्याटिङ गरेको नेपालले आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा ३१३ रन बनाएको थियो । शतक पूरा गर्ने क्रममा आशिफले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरी १०२ रन बनाए । गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रन बनाए । अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौका प्रहार गरी ४३ रन बनाए। रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ र बसिर अहमदले १५ रन जोडे । बलिङतर्फ युएईका इब्रार अहमदले ४ विकेट लिए। त्यस्तै खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्