Skip to content

गगनले बोलाए कार्यसम्पादन समिति बैठक, पूर्णबहादुर पक्ष महाधिवेशनमा भाग लिन सकारात्मक!

काठमाडौं – निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन सकारात्मक देखिएपछि सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन् । महाधिवेशन तयारीलगायत विभिन्न विषयमा आवश्यक छलफल गरी निर्णय गर्न आइतबार दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । संस्थापन पक्षले निवर्तमान कार्यवाहक सभापति खड्कासहित उनीनिकट नेताहरू असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनमा सहभागी हुने दाबी गरेको छ। खड्काकै मागअनुसार अध्यावधिक नगरिएका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुन दिने निर्णय यसअघि नै भइसकेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार खड्का र उनीनिकट नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने विषयमा समेत छलफल भइरहेको छ। खड्काले सहमतिका लागि यसअघि पठाएको प्रस्तावमा शेखर कोइरालासहित १११ जना नेताहरूलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने मागसमेत राखेका थिए । महाधिवेशन प्रक्रिया अघि बढाउनुअघि पार्टीभित्र बृहत् एकता कायम गर्ने उद्देश्यले उक्त माग सम्बोधन गर्न संस्थापन पक्ष सकारात्मक देखिएको बताइएको छ। खड्काले चाहेमा उनीनिकट नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा मनोनित गर्न सकिने र खड्काले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएर सहमतिमा आउनुपर्ने पक्षमा संस्थापन रहेको एक पदाधिकारीले बताएका छन् । यसैबीच, खड्कानिकट ३१ जना नेताहरूले शुक्रबार पार्टीभित्र सम्पूर्ण एकताका लागि अपिल गरेका थिए। अपिल गर्नेमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा र नैनसिंह महरलगायत छन् ।

उनीहरूले संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट सार्वजनिक गरिएका फरक–फरक कार्यतालिका स्थगित गरी सहमतिमार्फत महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए । नेता रामहरि खतिवडाले बृहत् एकताका लागि आफूहरूले गरेको अपिलपछि सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी पाएको बताएका छन् । उनका अनुसार पूर्वमहामन्त्री शशांक कोइराला पक्षबाट पनि सहमतिका लागि पहल आवश्यक छ । कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। तर, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। फरक–फरक कार्यतालिकाका कारण कांग्रेसभित्र देखिएको विवाद समाधान गर्दै महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने विषयमा आइतबारको कार्यसम्पादन समिति बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्