काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् । सभापति थापाले मंगलबार अपिल जारी गर्दै २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनका लागि वडा तहबाट सुरु हुने अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका हुन् । उनले नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको भन्दै पार्टीको बृहत्तर हितका लागि निरन्तर संवाद, सहमति र सक्रियताका साथ भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । थापाले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको उल्लेख गर्दै पार्टीभित्रका आन्तरिक मतभेद र असमझदारीलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उनको भनाइ छ । उनका अनुसार सबै कांग्रेसजनको सहभागिता सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिले पटक–पटक संवाद र सहमतिका विभिन्न विकल्पमार्फत अधिकतम प्रयास गर्दै आएको छ। सबै सदस्यको सहभागितामा हुने महाधिवेशनले फरक विचारको सम्मान, सम्बोधन र उपयुक्त विचारको अनुमोदन गर्ने भएकाले यही नै पार्टीका लागि उत्तम विकल्प भएको उनले बताएका छन् ।
सभापति थापाले महाधिवेशनमार्फत पार्टीलाई थप एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्नसक्ने बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको जानकारी दिएका छन्। त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले सदस्यता नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाउँदै निर्वाचन अधिकृतहरू जिल्लामा खटाइसकेको उनले उल्लेख गरेका छन् ।
विशेष महाधिवेशन सम्पन्न हुनुअघि रहेको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने गरी भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यक व्यवस्था गरिसकेको पनि थापाले बताएका छन् । त्यस निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै उनले उनीहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुन आग्रह गरेका छन् । सभापति थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनलगायत अन्य तहका निर्धारित अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन सबै कांग्रेसजनलाई विशेष आग्रह गरेका छन् । असोज ३ गते वडाबाट प्रारम्भ भएर असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनलाई सौहार्दपूर्ण र हार्दिक वातावरणमा सम्पन्न गर्न उनले सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्