Skip to content

संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद्को अवस्थाबारे अध्ययन तथा काम गर्न गठन हुने संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गर्ने र प्रमुख प्रतिपक्षी दलका नेताले बोलाएको बैठकमा समेत उपस्थिति नदेखाउने प्रवृत्ति उचित नभएको बताए ।

‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बोलाएको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ थापाले भने । संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने तर समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ । ‘यत्रो संसदीय समिति हामीले बनाउने भनेका छौं, यत्रो जिम्मेवारी दिएका छौं । तर, प्रधानमन्त्रीजीले नै संसदीय समितिको मान र मर्यादा राख्नुभएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै बेवास्ता गरिराख्नुभयो भने त्यो बेलामा के गर्ने हो त ?,’ उनले भने ।

थापाले समितिको गठन र त्यसको कार्यक्षेत्रबारे प्रधानमन्त्रीलाई सुरुमै जानकारी गराएर सरकार र संसद्बीच समन्वय कायम गर्नुपर्ने बताए । विगतको संसदीय अभ्यासमा पनि समिति गठन गर्दा सरकार प्रमुखसँग संवाद गर्ने गरिएको उनले स्मरण गरे । उनले आफूहरू सरकारलाई बिनासर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न तयार रहेको स्पष्ट पारे । समितिले प्रतिवेदन तयार गरेपछि सरकारले त्यसलाई ग्रहण गरी आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘हामी त अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं । संसदीय समितिमा बसेर काम पनि गर्छौं । समितिले रिपोर्ट पनि तयार गर्ला,’ थापाले भने, ‘तर, त्यो रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस् ।’ थापाले संसद् र सरकारबीच समन्वय भएमा संसदीय समितिको काम प्रभावकारी हुने बताए । समिति गठन गरेर प्रतिवेदन तयार पार्ने तर सरकारले त्यसलाई बेवास्ता गर्ने अवस्था आउन नदिन अहिले नै प्रधानमन्त्रीसँग संवाद गरेर अघि बढ्नुपर्ने उनको जोड थियो । ‘एकातिर हामी बैठक गरेर संसदीय समिति बनाउने, अर्कोतिर भोलि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्ने अवस्था नबनोस्,’ उनले भने, ‘यो सकारात्मक नोटमा भनेको हो । अहिले नै यसबारे कुरा गरिराख्दा उहाँहरूलाई पनि सजिलो हुन्छ ।’ सभापति थापाले संसदीय समितिको प्रभावकारिता कायम राख्न प्रधानमन्त्रीले समेत त्यसको अपनत्व लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्