Skip to content

एमाले कार्यदलमा प्रतिवेदनमै किचलो, बादल एक्लै पुगे ओली निवास

काठमाडौं – नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई दुईवटा छुट्टाछुट्टै मस्यौदा प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाउन सकस परेको छ । काभ्रेको बल्थली बैठकमा भएको सहमतिअनुसार कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदा प्रतिवेदनलाई सम्पादन गरेर एउटै प्रतिवेदन बनाउने जिम्मेवारी संयोजक थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दिइएको थियो । बल्थलीमा सम्पन्न कार्यदलको आवासीय बैठकले तीन नेताले एकीकृत प्रतिवेदन तयार गरी असोज १ गते बस्ने कार्यदल बैठकबाट पारित गर्ने तयारी गरेको थियो ।

सोही विषयमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा थापा, पौडेल र पोखरेलबीच केहीबेर छलफलसमेत भएको थियो । तर दुईवटा मस्यौदा प्रतिवेदनलाई एउटै बनाउने क्रममा प्रयोग गरिने केही शब्दावलीमै सहमति जुट्न सकेन । स्रोतका अनुसार उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले एकीकृत प्रतिवेदनमा पार्टी पुनर्गठन तथा नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने विषय समेट्नुपर्ने अडान राखेका थिए । संयोजक थापाले भने त्यसमा असहमति जनाएका थिए । छलफलमा सहमति जुट्न नसकेपछि संयोजक थापाले पौडेल र पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न गुण्डुस्थित निवास जान आग्रह गरेका थिए । तर पौडेल र पोखरेल गुण्डु नगएपछि थापा भने एक्लै अध्यक्ष ओलीसँग भेट गर्न गुण्डु पुगेका थिए । स्रोतका अनुसार थापाले अध्यक्ष ओलीसँग लामो समय छलफल गरेका छन् । प्रतिवेदनको मूल विषयमै सहमति जुट्न नसकेपछि बिहीबार बस्ने भनिएको कार्यदल बैठकसमेत अन्योलमा परेको छ । एमाले सचिव तथा कार्यदल सदस्य पद्मा अर्यालले असोज १ गते कार्यदल बैठक बस्ने समझदारी भए पनि बैठकबारे अहिलेसम्म सूचना नआएको बताइन् । ‘दुई वटा मस्यौदा प्रतिवेदन एकीकृत गरेर असोज १ गते कार्यदलको बैठक बस्ने समझदारी भएको हो । तर अहिलेसम्म भोलि १ गतेको कार्यदल बैठक बस्ने सूचना आएको छैन,’ अर्यालले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्