काठमाडौं – सरकारले भारत, चीन र अमेरिकासहित विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ। राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्न आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएपछि भारत, चीन, अमेरिकालगायत १७ वटा मुलुकमा नेपाली राजदूतको पद रिक्त रहेको छ। तीमध्ये सबै नियोगका लागि आजै नाम सिफारिस हुने वा नहुने भने टुंगो लागिसकेको छैन ।
स्रोतका अनुसार भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्माको नाम राजदूतका रूपमा सिफारिस गर्ने तयारी भइरहेको छ । पछिल्ला केही दिनयता सार्वजनिक भएका विवरणमा पनि यी नामहरू सम्भावित सूचीमा रहेको उल्लेख छ । यसअघि परराष्ट्र मन्त्रालयले राजदूत छनोटका लागि आवेदन मागेको थियो । आवेदन परेका नाममध्येबाट विभिन्न मुलुकका लागि सम्भावित उम्मेदवार छनोट गरी अन्तिम सूची तयार पारिएको बताइएको छ । सरकारले राजदूतका लागि नाम सिफारिस गरेपछि प्रस्तावित नामहरू संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् एग्रिमो प्राप्तिका लागि नाम पठाइनेछ। सम्बन्धित देशबाट सहमति प्राप्त भएपछि राजदूत नियुक्तिको प्रक्रिया पूरा हुनेछ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि नियुक्ति सिफारिसअघि प्रस्तावित राजदूतहरूसँग भेटघाट गरेको स्रोतको भनाइ छ। भारत, चीन र अमेरिकासँग सरकारले पछिल्लो समय उच्चस्तरीय कूटनीतिक संवादलाई अघि बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्