काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारी तीव्र बनाएको छ । क्यानका सचिव पारस खड्काका अनुसार यसपटक एनपिएलमा पहिलोपटक निर्णय समीक्षा प्रणाली (डिआरएस) प्रयोग गर्ने तयारी गरिएको छ भने विश्वस्तरीय स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने भएको छ । नेपाली क्रिकेट समर्थकहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै क्यानले डिआरएस प्रविधिको प्राविधिक परीक्षणसमेत सम्पन्न गरिसकेको छ । खड्काका अनुसार दुईवटा प्रविधि प्रदायक कम्पनीसँग टोलीको अपरेसन राखेर परीक्षण गरिएको हो ।
परीक्षण गरिएको प्रविधिको नतिजा, शुद्धता र प्रभावकारिताबारे सबै टोलीसँग प्रतिक्रिया लिने काम भइरहेको छ। उत्पादनसम्बन्धी अन्तिम निर्णयपछि कुन कम्पनीको डिआरएस प्रयोग गर्ने भन्ने टुङ्गो लाग्ने क्यानले जनाएको छ । विश्वकप स्तरको अत्याधुनिक डिआरएसका लागि आवश्यक स्रोतसाधन सीमित भए पनि परीक्षण गरिएको प्रविधि प्रभावकारी देखिएमा यही संस्करणदेखि नेपालमा पहिलोपटक डिआरएस प्रयोग गरिनेछ । यसैगरी, एनपिएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट टी–२० लिगको औपचारिक मान्यता र स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको खड्काले बताएका छन् । आइसिसीको औपचारिक स्वीकृति प्राप्त भएपछि एनपिएलका टोलीहरूले आबद्ध विदेशी खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् । तेस्रो संस्करणका लागि साकिब अल हसन, सिकन्दर रजा, रवि बोपारा र डेभिड वार्नरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूले सम्झौता गरिसकेको क्यानले जनाएको छ । स्टार खेलाडीको आगमनसँगै एनपिएलको अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।
एनपिएलको तेस्रो संस्करणको मिडिया अधिकारमा समेत राम्रो प्रतिस्पर्धा भएको क्यानको भनाइ छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय रूपमा स्टार स्पोर्ट्सबाट हुने तथा नेपालमा हिमालय टिभी र नेट टिभीमार्फत हेर्न सकिनेछ । मिडिया अधिकारबाट क्यानको आम्दानी र एनपिएलको व्यावसायिक पक्षसमेत बलियो बनेको क्यानले जनाएको छ । तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्षमता अभिवृद्धिका लागि क्यानले भारत ‘ए’ र बंगलादेशको टोलीसँग शृङ्खला खेल्ने तयारीसमेत गरेको छ। सन् २०२७ सम्म अन्य टेस्ट राष्ट्रका टोलीलाई नेपाल ल्याएर घरेलु मैदानमा खेलाउने उद्देश्यसहित विभिन्न प्रस्ताव पठाइएको र त्यसका लागि रणनीतिक तयारी भइरहेको सचिव खड्काले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्