काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको छ । भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतबार अपराह्न बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको हो । एमालेको १०औँ सचिवालय बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदनसमेत अनुमोदन गरेको महासचिव शंकर पोखरेलले बताएका छन् । कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पेस गरेको प्रतिवेदनमाथि सचिवालय बैठकले छलफल गरी अन्तिम रूप दिएको हो ।
उपाध्यक्ष बादल र महासचिव पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन तयार पारिएको थियो । उक्त एकीकृत प्रतिवेदनलाई सचिवालय बैठकले अनुमोदन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो प्रतिवेदन तयार पारेका थिए । प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समेटिएको छ । यसअघि चर्चामा रहेको ‘ओलीको तत्काल राजीनामा (पुनर्गठन)’ भन्ने शब्दावली भने पछिल्लो प्रतिवेदनबाट हटाइएको छ ।
कार्यदल तथा सचिवालय बैठकबाट प्रतिवेदन र एजेण्डालाई अन्तिम रूप दिएसँगै सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक तयारी पूरा भएको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्