Skip to content

प्रेमसिंह धामीले भने – ‘यो अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो’

काठमाडौँ – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले आफूले थालेको राजनीतिक यात्रा अन्त्य नभई नयाँ चरणको सुरुवात भएको बताएका छन् । राजनीतिक जीवनका क्रममा संघर्ष, चुनौती, आशा, निराशा र परिवर्तनका विभिन्न मोडहरू पार गरेको उल्लेख गर्दै धामीले कठिन समयमा नै राजनीतिक निष्ठाको परीक्षण हुने बताएका हुन् । धामीले राजनीतिलाई पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थ प्राप्त गर्ने माध्यमका रूपमा नलिएको बताएका छन् । उनका अनुसार राजनीति जनताको दुःख र समस्या बुझ्ने, उनीहरूको आवाज बन्ने तथा समाजका लागि योगदान गर्ने जिम्मेवारी हो ।

‘समयले धेरै कुरा बदल्न सक्छ । परिस्थिति बदलिन सक्छ, जिम्मेवारी बदलिन सक्छ, साथ र सहयात्राका स्वरूपहरू बदलिन सक्छन् । तर जनताको सेवाप्रतिको मेरो विश्वास र संकल्प बदलिनु हुँदैन,’ उनले भनेका छन् । पार्टी र संगठनलाई माध्यमका रूपमा व्याख्या गर्दै धामीले पदलाई पहिचान नभई जिम्मेवारी र कर्तव्यका रूपमा लिनुपर्ने बताएका छन् । ‘पार्टी र संगठन माध्यम हुन्, साध्य होइनन् । पद एउटा जिम्मेवारी हो, पद एउटा कर्तव्यनिष्ठ बाटो हो, पहिचान होइन,’ उनले भनेका छन् ।

विगतका अनुभवलाई बोझका रूपमा नभई सिकाइका रूपमा लिएर अघि बढ्ने बताउँदै धामीले आफ्ना गल्तीबाट पाठ सिक्ने, आलोचनाबाट आफूलाई सुधार्ने र जनताको विश्वासलाई सम्मान गर्दै निरन्तर यात्रामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘आज जहाँ उभिएको छु, त्यो कुनै अन्तिम गन्तव्य होइन । यो अझ जिम्मेवार बन्ने, अझ समर्पित हुने र जनताको सेवामा आफूलाई समर्पण गर्ने नयाँ चरणको सुरुवात हो,’ धामीले भनेका छन् । समयले पदभन्दा काम, भाषणभन्दा व्यवहार र व्यक्तिभन्दा जनताको विश्वासलाई सम्झिने उल्लेख गर्दै उनले निष्ठा, संकल्प र निरन्तरताका साथ जनताको सेवामा समर्पित रहने आफ्नो प्रमुख दायित्व भएको बताएका छन् । ‘यो अन्त्य होइन… यो त अझ लामो यात्राको सुरुवात हो,’ धामीले भनेका छन् ।

धामी एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनले अहिले एमाले परित्याग गरेका छन् । उनको त्यागले एमाले दार्चुलामा संकट देखिएको छ । उनी स्थानीय स्तरमा जनप्रिय नेताको छवि बनाएका युवा नेता हुन् । पार्टी पुनर्गठनको माग गर्दै आएका धामीले आफूले उठाउँदै आएको विषय सम्बोधन नभएपछि एमालेबाट अलग हुने निर्णय गरेका हुन् । जेन्जी आन्दोलनपछि एमालेको नेतृत्व र संगठनमा पुनर्गठन आवश्यक रहेको भन्दै आवाज उठाउँदै आएका धामीले पार्टी पुनर्गठन नभएपछि आफू नयाँ राजनीतिक यात्रातर्फ अघि बढेको संकेत गरेका छन् । स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्दै आएका धामीले भने आफ्नो पछिल्लो निर्णयलाई कुनै राजनीतिक यात्राको अन्त्यका रूपमा नलिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्