Skip to content

राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

काठमाडौं – राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा सिन्धुलीका चार जना शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइएपछि सम्बन्धित स्थानीय तहलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो । एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ । एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको उल्लेख गरिएको छ । पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ ।

शिक्षक तथा कर्मचारीको उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने जनाउँदै एकाइले सम्बन्धित स्थानीय तहलाई प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । साथै, सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि गरिएको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ । उक्त पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्