Skip to content

स्थानीय र प्रदेश चुनाव लक्षित गर्दै श्रम संस्कृति पार्टीको अभियान तीव्र

काठमाडौँ – स्थापना भएको छोटो समयमै निर्वाचनमा होमिएर प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य उपस्थिति देखाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा चुनावी अभियान तीव्र बनाएको छ । गत वर्षको जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनदेखि नै संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

आउँदो वैशाखमा स्थानीय तह तथा मंसिरमा प्रदेशसभा निर्वाचनको कार्यकाल सकिँदै गर्दा पार्टीले यी दुवै तहका निर्वाचनलाई केन्द्रित गरेर अभियान अघि बढाएको हो । पछिल्लो समय पार्टीका अध्यक्ष हर्क साम्पाङसहित शीर्ष नेताहरू कोशी प्रदेशका पहाडी जिल्लामा केन्द्रित भएर संगठन विस्तार तथा राजनीतिक भेटघाटमा सक्रिय छन् । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा कोशी प्रदेशमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो धेरै मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले यही प्रदेशलाई आफ्नो मुख्य आधारका रूपमा अघि बढाएको छ । पार्टीका नेता समिर तामाङका अनुसार श्रम संस्कृति पार्टी देशभर नै चुनावी अभियानमा सक्रिय भइसकेको छ। कोशी प्रदेशमा संगठन र प्रभाव बलियो भएकाले यहाँ पार्टीका गतिविधि बढी देखिएको उनको भनाइ छ ।

यसैक्रममा श्रम संस्कृति पार्टीले मंगलबार एमाले इलामका पूर्वसचिव उमेश गुरुङलाई पार्टीमा भित्र्याएको छ। उनलाई पार्टीका वरिष्ठ नेता सुदन किरातीले स्वागत गरेका थिए । इलामको सन्दकपुर गाउँपालिकामा आयोजित ‘कचनकवल–सगरमाथा हातेमालो कार्यक्रम’मा नेता किरातीले पुराना राजनीतिक दलमा रहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर श्रम संस्कृति पार्टीमा आउन आह्वान गरेका थिए । किरातीले पुराना दलसँगको सहकार्य अन्त्य गरेर नयाँ राजनीतिक यात्रामा जोडिन आग्रह गरेका हुन् । लामो समय माओवादी राजनीतिमा सक्रिय रहेका किराती पछिल्लो समय श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। पार्टीले उनलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको नेताहरूले बताएका छन् । किरातीका अनुसार ‘कचनकवल–सगरमाथा हातेमालो अभियान’ पार्टीको संगठनलाई तराईदेखि हिमालसम्म विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। अभियानमार्फत स्थानीय तहसम्म पार्टीको संरचना बलियो बनाउने तथा विभिन्न राजनीतिक दलमा रहेका नेता–कार्यकर्तासँग संवाद गर्ने उद्देश्य राखिएको उनले बताए ।

श्रम संस्कृति पार्टीले आगामी निर्वाचनमा कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राखेको पार्टीका नेताहरू बताउँछन् । पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले आगामी निर्वाचनमा धेरैभन्दा धेरै स्थानीय तहमा जित हासिल गर्दै कोशी प्रदेश सरकार निर्माण गर्ने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको बताए । उनका अनुसार अध्यक्ष हर्क साम्पाङदेखि कार्यकर्ता तहसम्मका नेता तथा सदस्यहरू चुनाव केन्द्रित गतिविधिमा परिचालित छन् । अध्यक्ष साम्पाङ र वरिष्ठ नेता किराती पूर्वी पहाडी जिल्लामा केन्द्रित हुँदा पार्टीका अन्य नेताहरू तराईका जिल्लामा संगठन विस्तार तथा राजनीतिक भेटघाटमा सक्रिय छन् । पार्टीले देशभर संगठन विस्तारको अभियानलाई निरन्तरता दिइरहेको र आगामी निर्वाचनलाई लक्षित गरेर स्थानीय तहसम्म संगठन निर्माणलाई प्राथमिकता दिएको जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ सुनसरी–१, भोजपुर र खोटाङमा जित हासिल गरेको थियो । समानुपातिकतर्फ थप चार सिट प्राप्त गरेको पार्टीले देशभर ३ लाख ८५ हजारभन्दा बढी मत पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्