काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज देशभरका ५१२ पालिकामा अधिवेशन प्रक्रिया सुरू भएको छ । कतिपय पालिकामा अधिवेशनबाट नेतृत्व चयन भएका छन्। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
५८ जिल्लाका ती पालिकामा उद्घाटन तथा बन्द सत्र सुरू भई निर्वाचनसमेत भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन प्रक्रिया जारी रहनेछ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको भन्दै कांग्रेसले अधिवेशनका क्रममा सावधानी अपनाउन निर्देशन दिएको छ । निर्वाचन अधिकृतहरूलाई आफ्नो मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन मौसमको अवस्था हेरी अनुकूल समयमा सञ्चालन गर्न निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा अधिवेशनका क्रममा मौसमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्