काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरुवा र बढुवामा हुने राजनीतिक तथा व्यक्तिगत दबाब अन्त्य गर्न तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र नजिकका व्यक्तिहरूबाट हुने ‘स्वार्थप्रेरित’ दबाबका कारण राजनीतिमा आएपछि आफूले सबैभन्दा बढी समस्या सरुवा र बढुवाकै विषयमा झेल्नुपरेको बताए । ‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो। सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,’ उनले भने ।
आचार्यले आफूले विधि र पद्धतिभन्दा बाहिर गएर सरुवा तथा बढुवासम्बन्धी आग्रह सम्बोधन गर्न नसक्ने भन्दै त्यस्ता दबाबलाई अस्वीकार गर्दै आएको स्पष्ट पारे । उनले रास्वपाको बाचापत्रमा स्वायत्त सरुवा बोर्ड गठन गर्ने विषय समेटिएको स्मरण गराउँदै सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । ‘हाम्रो बाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ। जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ। सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ,’ उनले भने । सरुवा र बढुवालाई निश्चित विधि, मापदण्ड र पूर्वानुमानका आधारमा सञ्चालन गर्ने व्यवस्था भए व्यक्तिगत पहुँच र दबाब कम गर्न सकिने उनको भनाइ थियो । आचार्यले सरुवा–बढुवाका विषयमा आउने दबाबकै कारण आफूलाई आफ्नै इष्टमित्रबाट समेत समस्या हुनसक्ने भन्दै सरकारसमक्ष व्यंग्यात्मक शैलीमा आग्रह गरे । ‘यदि यो व्यवस्था नभए आउँदो दसैंमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्