काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन् । एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउनेछन् । त्यस क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । वार्षिक बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल १४ असोजान कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्