Skip to content

बाढीपहिरोका कारण कांग्रेस महाधिवेशन केही दिन सर्ने, १९ कि २१ गतेदेखि भन्नेमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन सर्ने भएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन बाढीपहिरोका कारण उत्पन्न समस्यालाई ध्यानमा राख्दै केही दिन पर सार्ने तयारी भएको हो । कांग्रेसका एक शीर्ष पदाधिकारीका अनुसार महाधिवेशन ५ देखि ६ दिनभन्दा बढी नलम्ब्याउने गरी नेताहरूबीच छलफल भइरहेको छ। उनका अनुसार बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन समस्या भएको छ । ‘महाधिवेशन केही दिन सर्नेछ। ५–६ दिनभन्दा बढी नसार्ने गरी कुरा भएको छ,’ ती पदाधिकारीले भने, ‘बाढीपहिरोका कारण बाटोको समस्या छ। मान्छेका घर बगेका छन्। बाटो बगेको छ। काठमाडौं आउने बाटो छैन। यो बेलामा मान्छेको ज्यानभन्दा कांग्रेसको अधिवेशन ठूलो हुँदैन।’

कांग्रेसमा अहिले महाधिवेशन असोज १९ गतेदेखि सुरु गर्ने कि २१ गतेदेखि गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ। अन्तिम मिति भने पार्टीको औपचारिक निर्णयपछि मात्रै तय हुनेछ । यसैबीच कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवादसमेत जारी छ। संस्थापन समूहले केही दिन मिति सारेर महाधिवेशन अघि बढाउने तयारी गरिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा समूहले भने मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेको छ । संस्थापन समूहले हाल देशभर वडा तथा क्षेत्रीय अधिवेशन गरिरहेको छ। देउवा समूहले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुवै समूहबीचको विवादका कारण कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्