काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले असोज १८ देखि सुरू हुने महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी यात्रामा पनि सबैको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेकी छन् । ‘नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै, आगामी यात्रामा पनि यहाँहरूको साथ, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दछु,’ उनले भनेकी छन् । उनले पद्मकन्या क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघ केन्द्रीय सदस्य र महामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरेकी थिइन् । महाधिवेशनमा आफूलाई अझ सशक्त भूमिकामा उभ्याउँदै पार्टी र राष्ट्रप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ । बलियो कांग्रेस र समुन्नत देश बनाउने संकल्पसहित आफू अघि बढेको उनले बताइन् । कांग्रेसमा संशोधित विधानअनुसार ११ जना सहमहामन्त्री रहने व्यवस्था छ। जसमा ८ जना निर्वाचनबाट र बाँकी सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्