काठमाडौं – श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा समस्यामा परिणाम देखिने गरी काम गर्न चुनौती दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए । उनले सरकारको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको दाबी गरे। निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र परेको तथा सरकारी विद्यालयको गुणस्तर खस्किँदै गएको भन्दै उनले शिक्षा क्षेत्रको बेथितिप्रति संसद्को ध्यानाकर्षण गराए । भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीप्रति प्रश्न उठाउँदै राईले दुईतिहाइनजिकको राजनीतिक शक्ति प्रयोग गरेर भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न चुनौती दिए। भ्रष्टाचारीमाथि कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने उनले बताए । संसद्मा राईले भने, ‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? लोकप्रियताका लागि मात्र बोल्ने हो कि ?’
सरकारले टालटुले नीति अपनाएको आरोप लगाउँदै उनले आफूहरूले पटक–पटक उठाउँदै आएको निःशुल्क भिसा र निःशुल्क टिकटको विषय तथा किसानका समस्यामा पनि सरकारले ठोस काम गर्न नसकेको बताए । ‘आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्, आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन,’ उनले भने । राईले ‘जेनजी’ आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै सरकारको नियतमाथि समेत प्रश्न उठाए। संसद् बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कदम नचाल्न सरकारलाई चेतावनी दिँदै उनले यस्ता विषयमा आफ्नो दल पूर्ण रूपमा सतर्क र सजग रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्