Skip to content

सङ्घीयतालाई बलियो बनाउन राष्ट्रिय सहमति आवश्यक : रवि लामिछाने

Nepal Bank

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो, व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल तथा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ । सोमबार जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु भएको सांसद अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन आफ्नो पार्टीले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित बनाउँदै तीनै तहका सरकारलाई अधिकारसम्पन्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” उहाँले भन्नुभयो, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।” मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । साथै, मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई मजबुत बनाउन मेची–महाकाली पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले यात्राले हिमाल, पहाड र तराईका नागरिकलाई भावनात्मक रूपमा जोड्ने बताउनुभयो । पदयात्राका अभियन्ता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले यात्रा सुरु गरिएको बताउनुभयो । उहाँले यात्राका क्रममा मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा तथा विभिन्न क्षेत्रका समस्याबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पदयात्रा केवल भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने माध्यमसमेत भएको उहाँको भनाइ थियो । सांसद सिंहका अनुसार पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गरिनेछ । जानकी मन्दिरबाट सुरु भएको उक्त यात्राका क्रममा मधेस प्रदेशसहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्