काठमाडौँ – विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाल गाउँपालिकालाई ‘पर्यटन विकासमा उत्कृष्ट स्थानीय तह’ का रूपमा सम्मान गरेको छ। मन्त्रालयले प्रत्येक वर्ष पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा योगदान पुर्याउने संघ–संस्था, व्यक्ति तथा स्थानीय तहलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएको छ। सोही अवसरमा यस वर्ष अपिहिमाल गाउँपालिकाले देशभरका स्थानीय तहबीच उत्कृष्टताको उपाधि प्राप्त गरेको हो। गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अपिहिमाल गाउँपालिकाले आफ्ना ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, र १० वर्षे पर्यटन रणनीति योजनाअनुसार स्थायी र दीगो पर्यटन विकासको दिशा लिएको छ। तीन वर्षको अवधिमै स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै अपिहिमाललाई सुदूरपश्चिमको प्रमुख र देशकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको उनले बताए।
पर्यटन प्रवर्द्धनमा सहयोग पु-याउने नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, सुदूरपश्चिम पर्यटन इकाई, UNDP का STLRP र STP परियोजना, NATTA सुदूरपश्चिम, TAAN, NMA, HAAN लगायतका संघसंस्था र पर्यटन पत्रकार समुदायप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। अध्यक्ष बोहराले जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, अपिहिमालबासी जनसमुदाय, होमस्टे सञ्चालक, होटल व्यवसायी, कन्टेन्ट क्रियेटर, अपिहिमालका पर्यटन सद्भावना दूत हिमालय भट्ट, र काठमाडौंमा क्रियाशील पर्यटन व्यवसायीहरूप्रति पनि आभार व्यक्त गरे। उनका अनुसार अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिमको उच्च हिमाली पर्यटन क्षेत्रमा ट्रेकिङ पर्यटनसँगै हिमाल आरोहण पर्यटनको सुरुवात गरिसकेको छ। स्थानीय अर्गानिक उत्पादनलाई कृषि पर्यटनसँग जोड्दै स्थानीय आम्दानी र रोजगारीमा समेत योगदान पु-याइएको छ। गाउँपालिकाले आगामी वर्षहरूमा अपि हिमालदेखि सैपाल हिमालसम्मको पर्यटन विकास अभियानलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ। पर्यटनबाटै शिक्षा, स्वास्थ्य र युवाका लागि रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास अध्यक्ष बोहराले व्यक्त गरे। विविध कारणले औपचारिक समारोहमा उपस्थित हुन नसके पनि मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले मन्त्रालयमै बोलाएर गाउँपालिकाका अध्यक्ष बोहरालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। बोहराले सचिव मैनाली र सहसचिवज्यू प्रति विशेष आभार व्यक्त गर्दै भने, ‘यो सम्मान केवल अपिहिमाल गाउँपालिकाको होइन, सम्पूर्ण अपिहिमालबासी जनताको गौरव हो।’ उल्लेखनीय रूपमा, अपिहिमाल गाउँपालिकाले सन् २०२३ (वि.सं. २०८० असोज १०) अर्थात् विश्व पर्यटन दिवसकै दिन सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेश धामीबाट अपिहिमाल बेसक्याम्पमा पर्यटन भ्रमण वर्षको उद्घाटन गरेको थियो। ठीक दुई वर्षपछि सोही मितिमा गाउँपालिका ‘उत्कृष्ट स्थानीय तह’ का रूपमा सम्मानित भएको विशेष संयोग रहेको अध्यक्ष बोहराले बताए।




प्रतिक्रिया दिनुहोस्