काठमाडौँ – यातायात व्यवस्था विभागमा आगजनी भएको करिब डेढ महिनापछि मंगलबारदेखि ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ। गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभागको डेटा सेन्टरमा आगजनी हुँदा प्रणालीमा गम्भीर क्षति पुगेको थियो। त्यसपछि नागरिक एपबाट लाइसेन्स सेवा हटाइएको थियो। विभागका निर्देशक केशव खतिवडाका अनुसार लामो प्रयासपछि फेरि एपमार्फत सेवा सञ्चालन गर्न सफल भएको हो। उनले भने, “विभिन्न यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा पुनः सुरु भइसकेको छ र एपमा पनि नागरिकहरूले लाइसेन्स हेर्न सक्ने भएका छन्।”
आगजनीबाट विभागको मुख्य भवन क्षति भएकाले अहिले कार्यालयले यात्रु प्रतिक्षालयबाट सेवा दिइरहेको छ। खतिवडाका अनुसार मंगलबारसम्म ४२ मध्ये २८ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स नवीकरणको काम सञ्चालनमा आएको छ। तर पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनसहितका ७ वटा कार्यालयमा सेवा तत्काल सुरु नहुने भएको छ। उनले भने, “यी कार्यालयमा आगजनीबाट ठुलो क्षति भएकाले केही तयारीपछि मात्र सेवा सुरु गर्न सकिन्छ।” हाल नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन खुला गरिएको छैन। खतिवडाका अनुसार, अघिपछि दिनहुँ ६ देखि ७ हजार सेवाग्राहीले आवेदन दिने र त्यसमध्ये ४ देखि ५ हजारले ट्रायल पास गर्ने गर्थे। अब बाँकी कार्यालयले सेवा सुरु गरेपछि मात्र नयाँ आवेदन खुला गरिने र प्रदेशअनुसार समय तोकेर आवेदन प्रणाली मिलाउने तयारी भइरहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्