काठमाडौँ – सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दा सुनुवाइ हुने भएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको रकम बराबरको बिगो बुझाएर थुनामुक्त हुन माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । तर, न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनको निवेदन अस्वीकार गरेको थियो । त्यसपछि लामिछानेले उक्त आदेशविरुद्ध गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।
यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी प्रकरणसँग सम्बन्धित दुवै मुद्दा सँगसँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चौथाइ भाग अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत दाखिला गरेका छन् । सोही बराबरको जमानत तत्कालीन सञ्चालक छविलाल जोशीले पनि पेस गरेका थिए ।
तर, दुवै जनाको हकमा उनीहरूको वास्तविक जिम्मेवारीको रकम यकिन नभएकाले अदालतले थुनामुक्त गर्न नमिल्ने आदेश गरेको थियो । हाल पुर्पक्षका लागि रवि लामिछाने र छविलाल जोशी दुवै कारागारमा छन् । लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्