सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकामा चार दिनसम्म सञ्चालन भएको बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ। गाउँपालिकाको पहलमा आयोजित उक्त शिविरबाट करिब ९३७ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविर हेलम्बु गाउँपालिकाको आयोजनामा, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा तथा फेयरमेड, महिला आत्मनिर्भरता केन्द्रद्वारा सञ्चालित सिन्धु स्वास्थ्य परियोजना, र ग्रेस बाप्टिस्ट चर्च ताइवानको सहयोगमा सम्पन्न भएको हो। शिविरमा ४ जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। चार दिन चलेको शिविरमा दन्त सेवा लिने ३८५ जना, स्त्री रोग सेवा लिने १७४ जना, छाला रोगका बिरामी ६२ जना र सामान्य स्वास्थ्य परीक्षण गराउने ३१६ जना रहेका थिए। उक्त शिविरलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्चले पनि स्थानीयस्तरमा समन्वय गरेका थिए। शिविरको उद्घाटन सोमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गरेका थिए । उद्घाटन समारोहमा उनले गाउँगाउँमा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउन पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । शिविरमा दाँत, बालरोग, स्त्रीरोग, छालारोग तथा सामान्य स्वास्थ्य परीक्षणसहित औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको थियो। ताइवानका वरिष्ठ चिकित्सकहरू र नेपाली चिकित्सकहरूको संयुक्त टोलीले बिरामीहरूको उपचार र परामर्श दिएका थिए।
शिविरको पहिलो दिनमा मात्रै १२५ जनाभन्दा बढीले सेवा लिएका थिए भने अन्तिम दिनसम्म कुल ९३७ जना लाभान्वित भएका थिए। समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके स्थानीय समुदायमा दीर्घकालीन स्वास्थ्य लाभ पुग्ने बताए। यस अवसरमा स्वास्थ्य शाखाका प्रमुख मुकेश भट्टराईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संस्था, चिकित्सक तथा स्वयंसेवकहरूलाई हेलम्बु गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे । उक्त शिविरले दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई स्वास्थ्य उपचारको पहुँच नजिक पुर्याएको भन्दै स्थानीयले गाउँपालिकाको यो पहलप्रति खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्