काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा देखिएको अवरोध तत्काल हटाउन पहल गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गरेका छन्। विगतमा गरिएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै आयोजना प्रभावितहरूले मुहान क्षेत्र बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति अवरुद्ध भएको हो। यसै सन्दर्भमा सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पासँग छलफल गर्दै समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले समेत मेलम्चीमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। खानेपानी मन्त्रालयको जिम्मेवारी समेत आफूले सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले अविलम्ब वार्ता मार्फत समस्या समाधान गर्न सुझाव दिएकी हुन्। मन्त्री घिसिङले सरकार विगतका सहमति र हाल उठाइएका मागहरूबारे छलफल र वार्ता गर्न तयार रहेको जनाउँदै भने, “मेलम्चीबाट पानी नआउँदा काठमाडौं उपत्यकामा गम्भीर समस्या देखिन थालेको छ, त्यसैले सबै पक्ष गम्भीर भएर सहयोग गर्न जरुरी छ।” उनका अनुसार सरकारले मेलम्चीबाट यथासक्दो छिटो पानी आपूर्ति पुनः सुरु गर्न आवश्यक तयारी तीव्र पारेको छ। हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले भने विगतका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। उनले आयोजनाले लिएको जग्गा तथा घरभाडा, ठेकेदार कम्पनी सिएमसीसँग सम्बन्धित आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी, मेलम्ची बजारदेखि घ्याङसम्मको सडक निर्माण, र सुन्दरीजलमा पुग्ने पानीको बिक्रीबाट २५ प्रतिशत आम्दानी गाउँको विकासका लागि विनियोजन गर्नुपर्ने माग दोहोर्याए। यसअघि, २१ असोज २०८१ मा तत्कालीन खानेपानीमन्त्रीको उपस्थितिमा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो। मन्त्री घिसिङले सबै पक्षहरू बीचको विश्वास पुनःस्थापना गर्दै मेलम्ची आयोजनालाई पुनः गतिमा ल्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्