सिन्धुपाल्चोक – आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा मूल्याङ्कन गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरूले आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, चुनौती र सिकाइका विषयमा विस्तृत प्रस्तुति दिएका थिए।
कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादनका आधारमा पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो स्थानमा चयन भएको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारी दिए। चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका संयुक्त रूपमा दोस्रो स्थानमा, र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो स्थानमा घोषित भएका छन्। समीक्षात्मक प्रस्तुतिमा विभिन्न पालिकाहरूले आफ्नो विशेषता झल्काउने कार्यक्रमहरू प्रदर्शन गरेका थिए।
- हेलम्बु गाउँपालिका : ‘जिरो होम डेलिभरी’ र नसर्ने रोग रोकथाम कार्यक्रम
- सुनकोशी गाउँपालिका : स्वस्थ बच्चा प्रतिस्पर्धा र स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली
- त्रिपुरासुन्दरी गाउँपालिका : महामारी रोग नियन्त्रण कार्यक्रम
- मेलम्ची नगरपालिका : न्यूनतम सेवा मापदण्ड कार्यान्वयन
- बाह्रबिसे नगरपालिका : स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली
- चौतारा साँगाचोकगढी नगरपालिका : सुरक्षित मातृत्व र समुदायस्तर विशेषज्ञ आँखा स्वास्थ्य सेवा
- जुगल गाउँपालिका : क्षयरोग नियन्त्रण कार्यक्रम
- भोटेकोशी गाउँपालिका : पोषण कार्यक्रम
- इन्द्रावती गाउँपालिका : सुरक्षित मातृत्व सेवा
- बलेफी गाउँपालिका : समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन
- लिसंखुपाखर गाउँपालिका : परिवार योजना कार्यक्रम
- पाँचपोखरी थाङपाल गाउँपालिका : स्वास्थ्य फोहोरमैला व्यवस्थापनमा उत्कृष्टता
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तथा स्वास्थ्य क्षेत्रका विषय विज्ञ अनिल थापालगायत सरोकारवालाको उपस्थिति थियो। समीक्षाबाट प्राप्त उत्कृष्ट अभ्यास र सिकाइका बुँदाहरूलाई आगामी वर्षका योजना तथा नीतिगत कार्यमा समेत समावेश गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्