दार्चुला – अपीहिमाल गाउँपालिकाले सम्तेली चौडमा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माणका लागि ७ करोड रुपैयाँ लागतको ठेक्का आव्हान गरेको छ। गाउँपालिकाको आफ्नै लगानीमा निर्माण हुन लागेको यो परियोजना अपी क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र खेलकुद पूर्वाधार विस्तारमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ। समुद्र सतहदेखि उच्च उचाइमा बन्ने यो खेल मैदान नेपालकै साहसिक (एडभेन्चर) र उच्च उचाइमा अवस्थित सम्भावनायुक्त क्रिकेट रंगशाला हुने भएको छ। यसले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटको प्रतिष्ठा र संभावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
अपीहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले यो परियोजनाले गाउँपालिकाको आर्थिक उत्थान, स्थानीय रोजगार सिर्जना, पर्यटन विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने बताए।
“यो रंगशाला हाम्रो गौरवको परियोजना हो, अपी क्षेत्रलाई खेल पर्यटनको विश्वनक्शामा चिनाउने हाम्रो साझा सपना हो,” अध्यक्ष बोहराले भने। नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेट लोकप्रियताको चरममा पुगेको बेला हिमाली जिल्ला दार्चुलामा बन्न लागेको यो रंगशालाले नयाँ सम्भावना खोलेको बताइन्छ। उच्च उचाइमा खेल मैदान निर्माण हुनु नै नेपालमा दुर्लभ उदाहरण हो, जसले ‘हाई अल्टिच्युड स्पोर्ट्स डेस्टिनेसन’ का रूपमा अपीहिमाललाई परिचित गराउनेछ।
अपीहिमालको भौगोलिक र सांस्कृतिक विविधता र साहसिक सौन्दर्य क्रिकेट पर्यटनसँग जोडिँदा देशको खेल पर्यटन उद्योगमा नयाँ ढोका खुल्नेछ। भविष्यमा यस मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्